
निम्बतरु
सडक चाहिँ छ लेन चार लेन
तर ट्राफिक लाइट हराएको सडक जस्तो देश
जुध्द शमशेरको चिहानजस्तो देखिन्छ
अब सडकहरू केवल काँचको नदी जस्तो बनेको छ
जहाँ गाडीहरू तैरिरहेका छन्, तर दिशाहीन
चालकहरूले सिग्नलको सट्टा
निर्णय गर्छन् डर, आशा र अवसरको हिसाबले
र हरेक मोडमा अनिश्चितता र तनाव उडिरहेछ हावामा
देशको ट्राफिक लाइट हराएको छ
रातो, पहेँलो, हरियो—सबै रंग
अब सडकहरू भयानक नदी जस्तो देखिन्छ
गाडीहरू आफ्नो मर्यादामा होइन,
दौडिरहेका छन्
अराजकताको तेज रफ्तारमा
प्रत्येक मोडमा टक्कर र सायरनको संगीत बज्छ
जस्तो यो देशको चेतना नै अन्धकारमा हराइरहेको हो
ट्राफिक लाइट हराउनु भनेको
हुनु हो देशको मगज पागल
रातो बत्ती हराउनु,हराउनु हो सावधानी र मर्यादा
पहेँलो लाइट हराउनु, हराउनु होसर्तकता र संयम
हरियो बत्ती हराउनु विश्वास र अग्रसरता हराउनु हो
जब भाइटल अर्गनमा नै बिक्षिप्तता छ
तब खोक्रो शरीर मुढो न मुङ्ग्रो घिसार्दैछ आशा
सडकमा पैदल यात्रुहरू खोज्छन् हिँड्न
तर नागरिकहरुलाई
गति, गियर र सायरनको छोप्छकोलाहलले
मोटरसाइकल चालकहरू घाँटी तानेर खोज्छन् टक्कर टार्न
तर कहिलेकाहीँ उनीहरू आफैं सवारीसँग जुध्छन्
सडक अब केवल यात्रा गर्ने मार्ग होइन,
बनिसकेको छ एउटा संघर्षको अखड़ा
जहाँ गुमिसकेको छ नियम र चेतनाको अस्तित्व
देश घुम्तीमा बसिरहेछ ओत हालेर
सडकको किनारबाट टेलिस्कोप लगाएर
हाँसिरहेका छन् भ्रष्ट हरु
नियमहरू अब केवल नक्सा भएको छ
भ्रष्टाचार, स्वार्थ र बेवास्ताले
रातो बत्तीको ठाउँ ओगटेको छ
तर सडक एकमुठ्ठी परान पनि धान्न नसक्ने भएको छ

























