
निम्बतरु
मानिस एक भोक हो
र अर्को भोकतिर हिंडिरहेको भोक।
जीवन
सयौँ भोकहरूको संगम हो
शरीर, मन र आत्माको समेत
मान्छे बिहान उठ्छ,
रोटीको भोकसँगै
बेलुकी थकित शरीर बिस्तरामा त ढल्छ,
तर उसको मन अझै जागिरहन्छ
किनकि भोक त मेटिँदैन, केवल रूप बदल्छ
एकदिन संसारको सबैभन्दा अग्लो स्थानबाट चिच्याइरहेथ्यो
मलाई भोक लाग्यो
मान्छे पेटभर खान्छ,
तर उसको आत्मा अझै खाली रहन्छ
एउटा भोक मेटिएपछि अर्को जन्मिन्छ
पहिलो रोटी पेटको लागि थियो,
दोस्रो सम्मानको लागि,
तेस्रो प्रेमको लागि
यसरी भोकको श्रृङ्खला लहरझैँ फैलिँदै जान्छ
कसैले नाममा तृप्ति खोज्छ,
कसैले आवाजमा, कसैले मौनमा
रोटी खोज्छ, मनले अर्थ, आत्माले उत्तर
यही तीन तहका भोकहरू मिलेर बनेको छ
मानिसको सम्पूर्ण यात्रा
एक जीवन, सय भोक — हन्ड्रेड हङगर
भोकले एउटा हिउँदमा
सडकपेटीमा एउटा भिखारीसँग झगडा गरिरहेथ्यो
यो केवल रोटीको खोज होइन
यो त अस्तित्वको खोज हो
कसैलाई हजार साथीको बीचमा पनि एकान्तको भोक हुन्छ, कसैलाई प्रेम बीच पनि विशेष प्रेमको
मान्छेले जितेको सबै कुरा पनि कहिल्यै पूर्ण हुँदैन,
किनकि उसको मुटुमा सधैं बाँकी रहन्छ
एउटा नबुझेको ‘कसैले बुझोस्’ भन्ने भोक
बर्खेझरीमा भोकले
मन्दिरको वरिपरि सन्त मगन्तसँग
बेस्सरी लडाईं गरिरहेथ्यो
भोक नहुने मान्छे त अस्तित्वविहीन हुन्छ
किनकि भोकले नै मानिसलाई खोज्न सिकाउँछ,
र खोजले नै जीवनलाई अर्थ दिन्छ
हजारौं ग्रन्थहरू लेखिए,
मन्दिरहरू बने, युद्धहरू लडे
तर तिनीहरू सबै भोकका प्रतिरूप हुन्
साँझैबिहानै
एउटा अल्पसंख्यक समुहले कराइरहेछ
भोकमाथि भोक, सपना माथि सपना
तर यही त जीवित हुने कारण हो
म छु भन्ने महसुस
त्यो नै त अन्तिम भोक हो, जुन कहिल्यै तृप्त हुँदैन
अपूर्णताको चिच्याहट
भोक
मसानघाटमा लाशसँग लुछाचुँडी गर्दैछ
जहाँ प्रत्येक भोकले उसलाई खान्छ र बाँध्छ दुवै गर्छ
एक भोकले बाटो खोल्छ, अर्कोले संसार बन्द गर्छ
एक भोकले सिर्जना गर्छ, अर्कोले विनाश
तर अन्ततः तिनै भोकहरूले मानिसलाई मानिस बनाउँछन्
अपूर्ण, अस्थिर, तर अद्भुत
त्यो ईश्वर त
एउटा भतेरमा अल्झेर कर्तव्य बिर्सन्छ
अँध्यारोमा रहने चमेरामा पनि हरेक रात रन्थनिन्छ
मानिसले भोकले बाँधिएको छ
तर जब भोकले विवेकलाई खाँदछ,
तब त्यो पापमा रूपान्तरित हुन्छ
यही कारणले संसारमा सबै युद्धहरू,
अन्यायहरू, लोभ र हिंसा जन्मिएका छन्
मानिसले भगवानलाई खोज्नु पनि एक भोक हो
किनभने ऊ डराउँछ शून्यबाट,
र शून्य नै उसको अन्तिम प्रतिबिम्ब हो

























