
निम्बतरु
जीवन एउटा बगैँचा होइन जँगल हो भन्थे
अक्टोपस साथीहरु
ती कतिपय मान्छेहरू काँडामा मात्रै अड्किन्छन्,
फूलको सुगन्ध चिन्दैनन्
उनीहरू हरेक बिहान उज्यालोमा होइन,
छायाँको रेखा गन्ने गर्छन्
सानो बत्तीमा झुम्मिन्छन्
झिनामसिना कुरामा अल्झिने मान्छेहरू
जसका मनमा हल्का चिसो हावा चल्दा बित्तिकै
किनकि हरेक हावालाई उनीहरू शंका गर्छन्
किन यसो हल्लियो पात?
किन यसरी हेर्यो?
उनको चेतना मकुराको जालो हो
पारदर्शी, तर जालो
उनीहरू जीवनका ठूला नदीहरू बिर्सन्छन्,
र पानीको बूँदसँग युद्ध गर्छन्
एक शब्दले घाउ हुन्छ,
एक दृष्टिले विष बन्छ,
र एउटा सानो सम्झनाले दिनभर आँधी ल्याउँछ
चेतना ठूलो पोखरी होइन,
स-साना डुबानहरूमा हराएको ढुंगा हो
गाउँको चोकमा यस्ता मान्छेहरू भेटिन्छन्
जो सडकको खाल्डो होइन,
अरूको लुगा कति मोटो, कति पातलो भन्नेमा व्यस्त हुन्छन्
घरमा पनि, प्रेमको रोटी पोल्दै गर्दा
उनीहरू नुन बढी भयो भनेर रिसाउँछन्,
र तातो प्रेम चिसो बन्छ
उनीहरू सधैं व्याख्या गर्छन्,
अनुमान गर्छन्, र आफैंसँग झगडा गर्छन्
चोकमा उभिएका केही छायाहरुसँग
उनीहरू हरेक घटनामा दोष,
हरेक सम्बन्धमा प्रश्न,
र हरेक मुस्कानमा संदेह देख्छन्
यी मान्छेहरू
माकुराले बुनेको पारदर्शी स्वप्नमा बाँचिरहेका छन्
जहाँ आफ्नै शंका, आफ्नै व्याख्या,
र आफ्नै पीडामा फस्दै जान्छन्, निस्कन सक्दैनन्
शंकाले आफ्नै मनमा कोठा बनाउँछ,
जहाँ राग, रिस, र गुनासाले बत्ती निभाउँछ
यिनीहरुका श्वासले सूर्य निभ्छ भन्नेछ
हेराइले हुस्सु हट्छ भन्ने छ
जतिखेर पनि खोटे खेल्छ
स-साना कुरा, स-साना चोट,
र स-साना अपमानले प्रेम मार्न उद्दत छन्
यी त वरिपरि छन
मसिनो कुरालाई अतिरञ्जित गरेर हल्ला गर्न सक्छन्
हाम्रो चेतना सागर होइन,
स-सानो गिलासमा थर्किएको पानीजस्तै हुन्छ
जो स-साना कुरामा अल्झिँदैन,
उनीहरू हावासँगै हाँस्न जान्दछन्
उनीहरू नदीसँगै बग्न जान्दछन्
र अन्तत
जीवनसँगै बाँच्न जान्दछन्
माकुराको जालोजस्तो कुहिरोले घर छोप्दैमा
हतास हुदैनन् ।

























