
निम्बतरु
चोकमा फैलियो हल्ला
मानौँ कुनै अदृश्य हावा चल्यो, जसले पात मात्र होइन, मानिसको मन पनि हल्लायो
कसैले हल्ला सुरु गर्यो,
सानो हल्लालाई पनि सृँगारपटार गरेर
खरानी घसेर भएपनि
झाँक्रीलाई झैँ सिँगारेर
कसैले पठायो
लखेट्न भएपनि समाज उठ्छ
कसैले भन्छ होइन होइन सत्य हो
हो हो झुठो हो
समाजले बिश्वास गर्यो भने
हुरी चल्छ
भुकम्प आउँछ
चोक भनेको के हो र?
बाटाहरू भेटिने स्थान मात्रै होइन,
विचार र भ्रमका बिन्दु भेटिने ठाउँ हो
चोक
शहरको मुटु,
जहाँ बाटाहरू मात्र होइन,
मान्छेका मनहरू पनि भेटिन्छन्
चोकमा बिस्तारै जनताको सास चल्छ
रातमा सहर मरेको जस्तो हुन्छ
बिहानै आङ तान्न आइपुग्छ
दिउँसो हाई काढ्न
त्यसैले हल्ला
जीवनको नाडी हो
जसले देखाउँछ, समाज अझै जिउँदो छ
बिग्रेको खुनबाट जन्मेको भएपनि
हल्ला फैलिन्छ एक्कासि कानेकीरा खाइदिन्छ
हावा चल्छ
चल्छ त केवल विश्वास र भयको तरङ्ग
मानिसको मनमा शङ्का बस्यो कि
हल्लाले आफ्नो घर बनाउँछ
त्यो मनमा बस्छ, बढ्छ,
र अन्ततः आफ्नो अनुहार परिवर्तन गरेर बाहिर निस्कन्छ
कसैको मुखमा समाचार,
कसैको मुखमा सत्य, कसैको मुखमा षड्यन्त्र
राजनीतिले हल्ला रोज्छ,
धर्मले हल्लालाई व्याख्या गर्छ,
सञ्चारले हल्लालाई छपाउँछ,
र जनता हल्लामा बाँच्छन्
मानौँ सत्यभन्दा बढी स्वादिलो कुरा
हल्ला नै हो
किनभने हल्लाले सोच्न बाध्य पार्दैन,
त्यो केवल विश्वास गर्न सिकाउँछ
कसैले बोलेको वाक्य,
अरूले सुनाएको कथा,
तेस्रोले त्यसमा रङ भरेर फेरि बजार पठायो
त्यो हल्ला अब मानिस होइन, भ्रमको प्राणी भइसक्यो
उसले देख्दैन, तर दौडिन्छ
उसले सुन्दैन, तर चिच्याउँछ
र मानिसहरू, भय र विश्वासको सीमामा उभिएर
त्यसको ओठ हेरिरहेका हुन्छन्
तर
हल्ला फैलिनु भनेको समाजको आत्मा बोल्नु हो
त्यो चेतनाको कम्पन हो
जहाँ मौनताले आफ्नो सिमाना पार गर्छ
जब चोकमा हल्ला फैलिन्छ,
त्यो केवल कानमा होइन,
समयको नाडीमा फैलिएको हुन्छ
हल्ला समाजको दर्पण हो
त्यो झुटो भए पनि,
त्यो झुटभित्र लुकेको सत्य देखाउँछ
किनभने हल्ला बिना,
जनताका मुख बन्द रहन्छन्,
शक्ति निश्चल रहन्छ,
र सहर केवल ढुंगाको मूर्तिमा सीमित हुन्छ
कहिले काँही लाग्छ,
हल्ला फैलिनु भनेको नै
इतिहासको सास चल्नु हो
त्यो सासले बुढो सहरको छातीमा
नयाँ धड्कन दिन्छ
र जब हल्ला थामिन्छ,
चोक पुनः मौन हुन्छ
मानौँ समाजले फेरि एउटा
झुटो शान्ति ओढेको होस्
राजनीतिक चोकमा हल्ला
कसैको भाषणभन्दा शक्तिशाली हुन्छ।
धार्मिक चोकमा हल्ला
कसैको प्रवचनभन्दा गहिरो विश्वास फैलाउँछ
तर दार्शनिक चोकमा हल्ला
मानिसको अन्तरमा बिस्तारै उब्जिन्छ
जसलाई शब्दले होइन, मौनले सुन्छ
चोकमा हल्ला फैलियो,
तर त्यो हल्ला शब्दको होइन
सत्य र भ्रमबीचको बाँच्ने संघर्षको हो
चोकको हल्ला नै हो जसले
मानव सभ्यतालाई चलायमान राखेको छ
किनभने हल्ला रोकियो भने,
सोच रोकिन्छ
र सोच रोकियो भने
समाज मर्छ

























