
निम्बतरु
जब थालमा खाना सकिन्छ तब घिन लाग्छ थाल
जब कुचोले फोहर बढारिन्छ बढारुञ्जेल त्यस्तो लाग्दैन
बढारिसकेपछि कुचो घुर्यान छेउ राखिन्छ
चपल/जूता बाटो पार गर्न साथ दिन्छ,
घर पुग्दा ढोकाबाहिर राखिन्छ
जसले साथ दियो, उसलाई कहिल्यै दैलाभित्र पस्न दिइँदैन
जब मान्छे लास बन्छ तब डर लाग्न थाल्छ
उपयोग गरुन्जेल अमृत लाग्छ
आनन्द लाग्छ
तर जब प्रयोग गरेपछि
घिन,डर,लाज र बिषाक्त लाग्छ
त्यस्ता चीजहरु पनि हुन्छन्
यी मध्ये काफी मान्छे हो
हनिमुन पछिको च्यादर
आफ्नै रगतको ब्याण्डेज
झरेपछिको रौँ
यी पनि घिन लाग्छन्
सफा गर्ने कुरा नै अन्ततः फोहोर ठहरिन्छ
इच्छा सकिएपछि रेशमी कपडा पनि दोषी हुन्छ
सम्बन्धको बेवारिसे शव
सपना पूरा भएपछिको सपना
स्मृतिको एकान्त कुइनेटो
यी बिषाक्त लाग्छ
राजसिंहासनको छायाँमा सर्प बस्छ
उचाइमा पुगेको मन सधैं खाली हावाको डरमा बस्छ
प्रेम उपयोग गर्दा
मान्छे अर्को मान्छेको अस्तित्वलाई साधन बनाउँछ
प्रेम उपभोग हुँदा
त्यसको उद्देश्य मात्र तृप्ति हुन्छ, आत्मा होइन।
प्रेम अनुभूति हुँदा
उपयोग होइन, समर्पण हुन्छ
जस्तो बच्चा जन्मेपछि
घाँडेजाल र सालनाल बेकार लाग्छ
नेताको नजरमा
उपयोगपछि जनताको भीड उसको लागि “फाइल” हुन्छ
र जनता?
त्यस फाइलको “कभर पेज” — सजिलोसँग बदल्न सकिन्छ
अर्थात कण्डम ।
जोगीको नजरमा
जीवन एउटा खाली गाग्रो हो,
जहाँ पानी भन्दा बढी प्रतिध्वनि बाँकी रहन्छ
जीवनको उपयोगपछि
जोगीले देख्छन्
सबै सम्बन्धहरू भोग थिए,
सबै सम्झनाहरू स्वार्थ थिए,
र सबै दुःखहरू आसक्ति थिए
अब बाँकी छ निर्वाणको एउटा सानो श्वास

























