
निम्बतरु
भारी हावाले पनि कहिलेकाहीँ
लाहुरेको बिधुवा अर्धाङ्गिनीको कपाल सहलाउँछ
किनकि त्यो कपालमा अझै सिन्दूरको गन्ध बाँकी छ,
र हावा जान्दछ
त्यो गन्ध मेटाउन मिल्दैन
लाहुरे फूल जस्ले
क्षितिजको सिन्दुरे घाम ओढेर बस्छ
जस्ले प्रेमिकाको ओठ लगाएर बस्छ
लाग्छ त्यही फूलमा सिन्दूर चढाईकी छे
उसको आँगनमा हरेक वर्ष लाहुरे फूल फुल्छ,
रातो, भर्खरको रगतझैँ
तर त्यो फूलको हरेक पात
उसको आँखाको आँसुमा बसुधरा बग्छ
ऊ हरेक बिहान लाहुरेको बुट छोएर बाहिर निस्कन्छे,
लाहुरेको पोशाक टक्टकाउँछे
गोर्खा रेजिमेन्टको तक्मा र दर्ज्यानी चिन्ह छुन्छे
बालक छोरालाई हेर्छे
अनायसै आँसु झार्छे
एक हप्ते छुट्टीमा बल्लतल्ल आएको लाहुरे
आवा आयो अकस्मात्
आधा ओछ्यान छोडेर
सिधा युध्दमा गयो
गएको एकसातामा खबर आयो
उस्ले वीरगति प्राप्त गर्यो
तर ऊ सोच्छे
ऊ मरेको छैन्
उस्को अर्धाङ्गिनी जीवित छे
वर्षौं बिते
ऊ अझै सिन्दूर लगाउँदिन,
तर फूलको रातोपनले उसको निधार छोइरहन्छ
तर लाहुरे फूल फुल्दा मुटु ढक्क फुल्छ
त्यो फूल उसकै लागि फुलेको हो
एक रात ऊ त्यो फूल टिप्छे,
सिन्दूरको ठाउँमा राख्छे,
आकाश हेर्छे र बिस्तारै फुसफुसाउँछे
तिमी फर्कियौ , यही फूलको रूपमा
देशको इतिहासले वीरहरूको नाम त लेखेको छ,
तर तिनको प्रेम, पर्खाइ र आँसु
फूलको गन्ध बनेर मात्र बाँकी छ
लाहुरे फूल बोल्दैन,
तर ऊ भन्छ
हरेक शरद ऋतुमा तिम्रो सम्झना भएर फुल्छ
लाहुरेको रगत अझ बगिरहेछ
गोर्खा टोपीमा सुमेरु बनेर
यस्तो त क्रमश
परम्परा बनेको छ
जीवनको बिदाई
प्रेमको बलिदान
अनन्त पर्खाई
विधुवा सपना
स्मृतिको दैलामाथिको फोटो
आँगनमा लाहुरे फूल
काँचो धागोले बाँधिएको चिठ्ठी
मुटुको किलो पेन्सनपट्टा
लाहुरे भन्न बित्तिकै याद हुन्छ
देशबाहिरको परदेशी जीवन
खाकी ड्रेस,
शीरमा चम्किएको टोपी र काँधमा झुण्डिएको बन्दुक
गाउँमा बाँकी रहनु भएकी आमा, श्रीमती वा प्रेमिका
जसले पत्रमा छिट्टै फर्कनू भन्छिन्
लाहुरेनीको प्रतीक्षा,
जसको आँखामा हरेक साँझ टल्किन्छ फर्किने सपना
त्यो गीतको धून
लाहुर जान लाग्या म, सम्झी-सम्झी रुनू पर्ला…
जूनको आधा टुक्रा ।

























