
निम्बतरु
देश भएको छ आज पनि एउटा हुक्काजस्तो
काठमाडौं हुक्काबार
माथि बसेका नेताहरूले चिलिममा आगो बालिरहेछन्
त्यो आगो सुर्तीको होइन,
नागरिकको पसिना र आक्रोशको धुँवा हो
हुक्काको तलको पानी चाहिँ नागरिक हुन्
धुँवाले उनीहरूलाई छोपेर राखिएको छ
तर उनीहरू बोल्दैनन्,
केवल गुड्गुडाहट
केवल बबल-बबल
नलीहरू धेरै छन्
प्रत्येक दलको,
प्रत्येक गुटको, प्रत्येक सल्लाहकारको नली,
सबै तानिरहेका छन् एउटै हुक्काबाट,
तर कसैको सास भरिँदैन,
देशको फोक्सो मात्र कालो हुँदै गइरहेछ
हुक्काको धुँवा भित्रिने कोठा भने हावाहीन छ
त्यहाँ घोषणापत्रका कागज,
संविधानका धुलाम्मे अनुच्छेदहरू,
र पुराना भाषणका खरानीहरू छन्
कहिलेकाहीँ नयाँ पुस्ता आउँछ भन्छ
अब यो हुक्का फ्याँकौं
तर बूढा हुक्केहरू भन्छन्
हजुर, यही हाम्रो परम्परा हो
धुँवाको अम्मलीहरुले के छोडुन् हुक्का
ल्या ! त्यो मगमग त्यो धुवाँको लत
खोकेर ख्वाँईँ ख्वाँईँ गर्दै थामिरहेछ देश
धूवाँ एउटा रित्तिएर अनि सिद्धिएर आएको भाव मान्छु म
खरानीको भाव
एउटा अत्यास र विध्वंस जस्तो लागिरहन्छ मलाई
यो समाप्ति र निमिट्यान्नको इतिहासले भरएिको ठान्छु म

























