
निम्बतरु
अब कुनै नाटक बाँकी छैन,
तर मौन बाँकी छ
सबैको अपेक्षा स्वर्ग छ
अझ मरेपछि स्वर्ग गइयोस्
तर मूर्ति बनेर रहनु छैन
ईश्वर !
तिमी जस्तो बनेर
अदृश्य भएर रहनु छैन
मलाई अमर हुनु छैन
छ्या ! घामजस्तो त्यो अमरत्व
सधैं एउटै अनुहार
सधैं एउटै बाटो,एउटै यथार्थ
मलाई फूलजस्तो हुनुछ
झर्नुछ,उम्रिनुछ ,फुल्नुछ र फेरि झर्नुछ
परिवर्तन
मौसमजस्तो
छ्या ! त्यो स्वर्ग
युगदेखि जस्ताको तस्तै छ
कहिलेकाहीँ अर्कै हुनु
कि नर्क जस्तो बन्नु
सधैं स्थिर,सधैं उस्तै
थुम्काको ईश्वरजस्तो
सधैं एउटै सधैं एउटै
सधैंको ठुस्स!सधैंको गजधुम्म
अब कुनै नाटक बाँकी छैन,
तर मौन बाँकी छ
केही छैन
शून्य बाँकी

























