
निम्बतरु
देशको सबैभन्दा काइदाको
तर सबैभन्दा गहिरो थिङ्क ट्याङ्क हो चिया पसल
यहाँ कुनै पिएचडी चाहिँदैन,
बस् एउटा चिया र दुई जना फुर्सदिला मान्छे चाहिन्छ
त्यो माटोको कपमा उम्लिरहेको पानीसँगै
देशको राजनीतिसमेत उम्लिरहेको हुन्छ
कसैले अखबार पल्टाउँछ,
कसैले मोबाइल स्क्रोल गर्छ
त्यही मोबाइलमा अहिले चलिरहेको छ
जेनेरेसन आन्दोलन
टिकटक, ट्विटर, फेसबुक सबैमा हल्ला छ
अब यो पुस्ता मौन छैन
गफको अर्थशास्त्र यतै पढाइ हुन्छ
चिया पसल खुल्ने बेला
घुँडामुनि घाम पुगेको छैन
सुरुप सुरुप शुरु हुन्छ
चिया पसल
देशको सबैभन्दा सानो, तर गहिरो विश्वविद्यालय हो
यहाँ न त परीक्षा हुन्छ, न त डिग्री
तर ज्ञान, भावना र विचारको विनिमय हुन्छ
साँझको घाम छानोमा चिप्लिँदै गर्दा,
धुवाँले अनुहार ढाक्छ,
र शब्दहरू कुहिरो जस्तो बग्छन्
जेन्जी आन्दोलनका चर्चा,
फगतका हल्ला,
प्रेम र पीडाका कथाहरू,
सबै एउटै टेबुलमा झुम्मिन्छन्
गाउँको मुख्य बाटोमा सानो,
पुरानो चिया पसल उभिएको छ
जस्तो छोपेको छ धूलोले समय झैँ,
तर भित्रको हावा कहिल्यै पुरानो हुँदैन
यो पसल केवल चिया बेच्दैन;
यो समयको ऐना हो,
जहाँ हरेक गफले मानिसको पाना पल्टाइदिन्छ
जस्तो नदी साँच्चै बहिरहन्छ,
तर किनारामा बसेर हेर्ने केवल पानीको आवाज मात्र सुन्छ
अर्धछायाले छोपेको धर्म
पातहरुले बेरिएको रुखजस्तो
हावा चल्दा हाँगाबिँगा देखाइदिन्छ
उस्कै छायाले उस्लाई लज्जाबाट बचाउन सक्दैन
धर्म एउटा वृद्ध जस्तो कुर्सीमा बसिरहेको थियो,
हातमा कप समातेर
ऊ हरेक गफमा आफ्नो छाया छोड्थ्यो,
नयाँ हावाले पुरानो विश्वासलाई हल्का हल्लाइरहेको थियो
भाषा एक रमाइलो किशोर जस्तै छेउमा उभिएर
आयातित सपना भिरेर
वृध्दलाई खिराउँदैथियो
भेष भित्तामा झुण्डिएका कपडाजस्तो,
फुङ्सिदै मक्किदै थियो
संस्कृति – पसलको ढोकामा कलेटी परेको धुँवा जस्तै,
वृद्ध सडकछेउको ढुङ्गाको कथा जस्तै थियो
हरेक पल छ्यापिएको थियो
हुँइकिएको आउने जानेहरुको प्रभावमा
हस्तक्षेप – बाहिरबाट आएको आँधी जस्तो थियो
धेरै कुरा बदल्न सक्छ
फोक्सो बदलेर सिलिकनको हाल्न सक्छ
तर पसलको भित्री हावा,
छानाको चरबाट छिरेको घाम
छानाबाट बिर्सेको पालामा खसेको जस्तो शीत
वृध्द छायामा अटल छ
चिया सुरुप्प सुरुप्प!

























