
निम्बतरु
परिवेशले भन्छ
अब फर्क जाऊ
जाने बेला भयो
अब उठ, बाटो लाग
समयले
समय ढिलो हुँदैछ, जाऊ भन्छ
अब घर फर्क भन्छ जबर्जस्ती घचेटेर
धारे हात लाउँदै भन्छ
मौनता र भावनाले
अब जाऊ
साथै लागौँ भन्छ हातमा तानेर
अब म जान्छु भन्छ
यो स्थानले
अब जाऊ
तिमी बिना म खाली छु, जाऊ
चाँडो आ, जाऊ भन्छ
मुखमा थुकेरै भन्छ
भित्री चेतना / आत्माले भन्छ
अब विश्राम गर्न जाऊ
पूरा गर्न अघि बढ
यो बाटो तिम्रो होइन, जाऊ अर्को बाटो
कोर्रा लाउँदै भन्छ
तर मलाई जाने मन छैन फिटिक्कै
बत्ती निभाउदै ,अब अन्धकारको गर्भमा जाऊ भन्छ
पात हल्लिने हावाले पाइला तान, बाटो लामो छ भन्छ
नदीको बगाइले रुक्न सक्दैनस्, बग्दै जा भन्छ
उड्दै गरेको चरा आकाश तिम्रो छ, उड्दै जाऊ भन्छ
क्षितिजको डाकले सपना पुरा गर्न लाग, जाऊ
घामको किरणले नयाँ बिहान खोज, बाटो लाग
गाउँको टोल छोड्दा धुलोले पछाडि नफर्की, अघि बढ
मौनताले भन्छ पढिसक्यौ, अब अर्को अध्यायतिर जाऊ
फूल ओइलिँदै गर्दा म त सकिएँ, तिमी अझै फुल्न जान्छौ
घडीको काँटाले समय रोकिँदैन, तिमी पनि नअड्क
शवयात्राको घण्टीले जीवन छोटो छ, अघि बढ भन्छ
तर मलाई जाने मन छैन पटक्कै ।
अदृश्य आवाजहरुले
सपनामा अमुर्त यादहरुले
एकान्तमा अस्पष्ट छायाहरुले
जाउ,गइहाल भन्छ
मलाई जाने मन छैन ।

























