पदम गैरे पाल्पा– निर्वाचन आयोगले राजनीतिक दलको ‘स्वमूल्याङ्कन’ प्रक्रियाको नाममा दलहरूको स्वायत्ततामाथि हस्तक्षेप गरेको भन्दै पाल्पामा रहेका ६ राजनीतिक दलले विरोध जनाएका छन्। उनीहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगको उक्त कदम नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आयोगले संघीय कानुनको दुरुपयोग गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को मर्म विपरीत काम गरेको आरोप लगाएका छन्।
उक्त विज्ञप्तिमा भनिएको छ, “यो कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत छ। निर्वाचन आयोगले संघीय कानुनको दुरूपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा अलग कानुन मस्यौदा तयार गरेर संघीय संसदको क्षेत्राधिकार अतिक्रमण गर्न र राजनीतिक दललाई नियन्त्रण गर्ने प्रयास गरेको हुँदा यसप्रति हाम्रो स्पष्ट असहमति तथा विरोध छ।”
उनीहरूले बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुर्याउने र दलहरूको आन्तरिक स्वायत्ततामा हस्तक्षेप गर्ने प्रवृत्ति अस्वीकार्य रहेको बताएका छन्। यदि आयोगले उक्त कदम सच्याएन भने कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिको 6 दलका अध्यक्ष र प्रतिनिधिहरूले पनि हस्ताक्षर गरेका छन्।

























