
निम्बतरु
मृत्युसमीप अनुभवसँगै
यो आधा रातमा अन्तिम पत्र लेखुँ ?
के थाहा बिहानै संसार जल्नेछ
अहिलेसम्म तिम्रो मेरो प्रेमले जलिरहेथ्यो
जलिरहेको भीडबाट
आफ्नै मृत्युको समाचार सुनुँ
के थाहा भोलि संसार यसै नरहन पनि सक्छ
आजको रात लेख्दुँ अन्तिम पत्र ?
त्यतिधेरै छैन मसँग
घाँटी घाँटी डुबाइसकेछ
टाइटानिक डुबेपछि पनि
कस्तो पत्र लेखुँ ?
अब लेखेर के हुन्छ ?
अनुसन्धानका लागि भित्रसम्म खोजेपनि
नभेटिन सक्छ यो अन्तिम पत्र
त्यतिञ्जेल तिमीपनि कतै पुरिईसकेका हुनेछौ
अनि प्रेम ?
हरकोहीको कहानी मुनामदन पनि बन्दैन
बन्दैन लैलामजनुको कहानी
न जूनताराजस्तो हुनसक्छ
हाम्रो त एउटा दुर्गम गाउँको कथा हो
एकाध पुस्ता सुनाइएलान
न उपन्यास बन्छ न फिलिम
म डुबेपछि केही रहन्न
अन्त्य पछि अन्त खोज्नु बेकार छ
तर पनि लेख्छु एउटा अन्तिम पत्र
कसैले भेटिहाले बकवास भन्ला
रद्दी भनेर वास्ता नगर्ला
यो कविको अन्तिम पत्र भनेर
अरु माथा फुस्काहट कविहरुका बीच लिलाम गर्ला
बर्सेनि आफन्तले देलान् पिण्ड
म नभेटिएपछि कुशको मान्छे बनाएर सदगत गर्लान
दुईचारवटा मलामी
घाटछेउ बसेर दैला मारा खेल्लान्
एउटा अन्तिम पत्र यस्तै लेख्दुँ ?
आधा रातमा अन्तिम पत्र लेखुँ
फेरि शहर नै जल्ला पुरै /

























