निम्बतरु
म हरो भएँ
तिमीलाई, उस्लाई र देशलाई
फुकालेर फालिदिएको थें बीचमा
लगाएनन् आफूमा
बरु खरानी घस्छन् ।
एकल्टे हुँदा
घर हरो हुन्थ्यो
घर कुर्ने मान्छे थिएन
कैले त
आफै पनि हरो भइन्थ्यो
घरमा कतैपनि नमिल्दा ।
कहिले त दुहुनो भैंसी एकहाते छ भने
कहीं जान परे भैंसी हरो हुन्छ
कैलेंकाँही
त्यतिकै हरो आइलाग्छ
जस्तो नबोलाएको पाहुना
हरो हुन्छ तोरीबारीमा दुबो
नत्र त अन्य समय पूजाआजामा खोज्दै हिड्नुपर्छ
म त यो पनि भइनं
कम्तिमा
भैंसी दुहुनो छ
पाहुनाले पाहुर ल्याउँछ
दुबो पूजामा नभइ हुदैन ।
हुन त
काम नलाग्ने बोझ थपिनु
हरो थपिनु हो
अनावश्यक झञ्झट बेहर्नु हरो बेहर्नु हो
त्याग्न पनि बोक्न पनि नसकिने चीज हरो
पन्छाएर पनि सुख नमिल्ने
यही हरो भएको छु म अचेल ।
आजभोलि मेरो मन मैलाई हरो भएको छ
जस्तो किसानलाई गोरु हरो भयो ट्याक्टर आएपछि
जस्तो बारी हरो भयो छोरो प्रदेशिएपछि
जस्तो बिरालोको घाँटीमा घण्टी
जस्तो मन्दिरमा घाँडो
जस्तो अर्घेलो
म यस्तै भएँ समाजको निम्ति
जस्तो सल्टाउन पनि नसकिने फ्याँक्न पनि नसकिने
हरो ।