कैलाली – कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न भन्दै नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएर विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन शुरू गरेको हो ।
नतिजाकै आधारमा गाउँपालिकाले चालू आर्थिक वर्षमा आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसईईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको छ ।
जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएर चार लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमूना मावि मुनुवाले दुई लाख ५० हजार र तेस्रो अरुणोदय मावि खैरीफाँटाले एक लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
आधारभूत तहतर्फ प्रथम भएको राष्ट्रिय आधारभूत विद्यालय खैरीपुरले तीन लाख रुपैयाँ र दोस्रो हुने हिमालय राष्ट्रिय मावि अमरावतीले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम शुरू गरेको बताउनुभएको छ ।