
नविन रसाईली अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ११ सय जना बिरामीले सेवा लिएका छन् । नगरपालिकाले संचालन गरेको शिविरमा शुक्रबार र सनिवार गरि ११ सय जनाले सेवा लिएका सन्धिखर्क नगरपालिकाले जनाएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना र चौराह हस्पिटल प्रा.लि बुटवलको प्राविधिक सहयोगमा संचालन भएको शिविर दुई दिन सन्धिखर्कको अर्घाखाँची आवशिय मा.बिमा संचालन भएको थियो ।
स्वास्थ्य शिविरमा सन्धिखर्क नगरपालिका भित्रका विरामीहरुले निःशुल्क चेक÷जाँच गर्नुका साथै बिरामीलाई निःशुल्क औषधी समेत वितरण गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । श्रेष्ठले नगरमा रहेका दिर्घ रोगी जसले विषेशज्ञ सेवा लिनबाट बञ्चित छन् त्यस्ता बिरामीलाई मध्यनजर गर्दै निःशुल्क शिविर संचालन गरेको बताए । ‘नगरबासीको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गरेका हौं, आगामी दिनहरुमा पनि यस्ता खाले शिविर फेरी संचालन गर्ने छौं ।’ उनले भने ।
शिविरमा न्यूरो सर्जन, हाड जोर्नी तथा नशा रोग, जनरल फिजिसिएन, महिला तथा स्त्री रोग, मनो तथा टाउको सम्बन्धी रोग, नाक कान घाँटी सम्बन्धी रोग, भिडियो एक्स रे, फार्मेसी, छाला रोग, मुटु रोग, बाल रोग लगायतका सेवा दिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार वडा नं. १ देखि ६ सम्मका बिरामी शुक्रबार र वडा नं. ७ देखि १२ सम्मका बिरामी सनिवार शिविरमा आएका थिए ।
निःशुल्क स्वास्थ्य शिविर पाएपछि बिरामी पनि खुसी देखिन्थे । बिरामीहरु उत्साहका साथ शिविरमा आईरहेका थिए । ‘नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेपछि खुसी लागेको छ । नगरले पछि पनि यस्तै शिविर संचालन गरे बुटवल काठमाण्डौं जानुपर्ने थिएन ।’ उपचार गर्न एक बिरामीले भने ।
