
नविन रसाईली अर्घाखाँची । प्रतिनिधीसभाकी उपसभामुख तथा नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधीसभाको उम्मेदवार बन्ने संकेत गरेकी छन् । सनिवार अर्घाखाँचीको सन्धिखर्कमा भएको “उप–सभामुख सम्मान तथा पत्रकार भेटघाट” कार्यक्रममा बोल्दै भुसालले आफु अर्घाखाँचीबाट प्रतिनिधी सभा प्रत्यक्ष तर्फको उम्मेदवारको बलियो दाबेदार रहेको जिकिर गरिन् । भुसाल प्रतिनिधीसभाको उपसभामुख भएपछि पहिलो पटक गृह जिल्ला पुगेकी हुन् ।
उनले युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गर्न नहुने बताईन । ‘नयाँलाई अवसर दिनुपर्छ भन्दैमा पुरानालाई निषेधको राजनीति गर्न हुदैन, यदि त्यो प्रवृति अगाडी बढायौ भने राजनीति नकारात्मक चरणतिर अगाडी बढ्छ भन्ने मेरो मान्यता हो । व्यक्ति यो वा त्यो भन्दापनि उसले गर्ने काम सबैभन्दा महत्वपुर्ण हो ।’ भुसालले भनिन ।
यस्तै फरक प्रसंगमा भुसालले नेपाल अहिले विकासन्मुख तिर अघि बढेको बताउदै अर्घाखाँचीमा बसेर यहाँका जनताले आफ्नो भविष्य सुनिश्चित भएको महशुस गर्ने गरि विकास गर्नु आवश्यक रहेको बताईन । जिल्लाका स्थानिय सरकारले विकासको ठुलो परिकल्पना गर्दा स्थानिय सरकाको श्रोतले धान्न नसक्ने हुँदा प्रदेश र केन्द्रिय सरकार सँग समन्वयकारी भुमिका खेल्नुपर्ने रहेको बताईन ।