‘लिंग पहिचान सहितको गर्भपतनले छोरीको अस्थीत्व गुम्दै’

सागर परियार
अर्घाखाँची ।
लिङ्गले सामाजिक रूपमा निर्माण गरिएका महिला, पुरुष, केटी र केटाहरूको विशेषताहरूलाई बुझाउँछ । यसमा महिला, पुरुष, केटी वा केटा हुनुका साथै एक अर्कासँगको सम्बन्धसँग सम्बन्धित मापदण्ड, व्यवहार र भूमिकाहरू समावेश हुन्छन ्। सामाजिक संरचनाको रूपमा, लिङ्ग समाज अनुसार फरक हुन्छ र समयसँगै परिवर्तन हुन सक्छ । लिंग भनेको स्त्रीत्व र पुरुषत्वसँग सम्बन्धित विशेषताहरूको दायरा हो ।

लैङ्गीक समानता’’भन्नाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ,स्रोत र साधन आदिमा समान अवसर पहुँच र नियन्त्रण कायम राख्नु हो । महिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र स्वतन्त्र छ भन्ने मान्यता नै लैंगिक समानता हो । लैङ्गीक समानता ल्याउनको लागि विशेष अभियानहरूको सन्चालन गदै त्यस सम्बन्धमा देखापरेका चुनौतिहरुसग जुदै जानु पर्दछ । लैगिक समानता ल्याउन नारीवर्गको चेतनामा अभिवृद्धि गनुपर्छ । नीतिनिर्माणका उच्च तहमा महिलाहरू पुग्नुपर्दछ अनिमात्र लैगिक समानताले खुड्किलो चढ्छ । यसलाई सामाजिक न्याय प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारको रूपमा लिन सकिन्छ । लैंगिक समानताले सारवान समानता कायम गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

सामाजिकीकरणले हरेक समाजले महिला र पुरुषको लागि बेग्ला बेग्लै मूल्य मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ । भर्खरै जन्मेको शिशुलाई उसको लिङ्गको आधारमा पुरुष र महिलामा परिवर्तन गर्न सामाजिक र संस्कृतिक प्रक्रिया शुरु हुन्छ त्यो नै सामजिकीकरण हो । सामाजिकीकरण जस्तो समाज छ त्यसैले चाहे अनुसारको हुन्छ । सामाजिकीकरण स्वभाविक प्रक्रिया हो, किनकी प्रत्येक समाजमा त्यहाँ स्थापित चाल चलन रितिरिवाजलाई स्वभावैले अनुसरण गरिन्छ तर सवाल के हो भने त्यो समाज कति सभ्य छ, त्यहाँ विभेदहरु छन कि छैनन त्यसका मूल्य मान्यता न्यायसंगत छन वा छैनन, त्यसले नै सामाजिक प्रक्रियामा प्रभाव पार्दछ । जस्तैः अत्यन्तै रुढीग्रस्त समाजमा जन्मेको बालकले पनि बाह्य प्रभाव प्राप्त गर्न सकेन भने त्यही समाज अनुकूल बन्न पुग्दछ तर जन्मदै उ रुढीवादी बनेर जन्मेको हुदैन । सामाजिकीकरण हुनु आफैमा नराम्रो होइन तर गलत समाजमा रहेका गलत मान्यतालाई परिवर्तन गर्नु आजको आवश्यकता हो ।

  लैगिंक विभेद तथा लैगिंक हिंसाका जति वकालत गरे पनि समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टि एउटै भईसकेको छैन । पछिल्लो समयमा गर्भको बच्चाको लिंग पहिचान गर्ने, छोरी भएमा गर्भपतन गराउने वा छोरा भए निरन्तरता दिने क्रम बढ्दो छ । गरिब, निमुखा तथा कमजोर बर्गका लागि यो नौलो भए पनि धनी र बौद्धिक वर्गका लागि यो सामान्य भई सकेको छ । नेपालमा नै भिडियो एक्स रे गरेर लिंग पहिचान गर्न सकिने र गर्भपतन गर्ने भएपछि पछिल्लो समयमा भारतको सिलगढी, पुर्णिया, पटना, तथा गोरखपुर जाने क्रम पनि घटेको छ । हाम्रो देशमा क्रोमोजोमको अध्ययनबाट गर्भको लिंग पहिचान गरेको नपाईए पनि भिडियो एक्स रे बाट लिंग पहिचान गरेका उदाहरणहरु प्रसस्त पाईन्छ । पुरातन पितृसत्तात्मक ढाँचाबाट चलिरहेको हाम्रो समाजका विभिन्न प्रचलन र मान्यताले छोरालाई एक विशेष जिम्मेवारी दिएको छ । बदलिँदो समाजले यो मान्यता उछिन्न नसक्दा समाजमा अझै पनि छोराको चाहना अकासिएकै छ । त्यही अविछिन्न चाहनाको आपराधिक पृष्ठभूमिमा मौलाउँदै छ, लिंग पहिचान सहितको गर्भपतन । 

त्यसो त अर्घाखाँचीमा पछिल्लो समय छोराको तुलनामा छोरीहरुको संख्यामा कमि आउनु पनि लिंग पहिचान सहितको गर्भपतन मुख्य कारण बनेको छ । अध्ययनको क्रममा मेडिकलमा धाउदै गरेकी सन्धिखर्क नगरपालिका वडा नं ३ की नाम परिवर्तन गोमा नेपाली संग भेट भयो । उहाँका एक छोरी छन्,। र किन आउनु भएको ? भनेर सोध्दा सुरुमा त उहाँ डराउनु भयो र पछि कुरा प्रष्ट पारे पछि मुख खोल्न भयो । समाजको नजरमा छोरो भए सम्मानित भईने र मरे पछि पनि बैतर्नी तरिन्छ भन्ने मान्यता रहेका कारण दोस्रो सन्तान के छ भनी उनी गर्भपरिक्षण गर्न आएको बताइन । ‘’उनी मात्रै नभई अधिकांश महिलाहरु सामाजिक मुल्य मान्यताको कारण कम्तिमा एउटा छोरा जन्माउनु समाजिक दृष्टिकोणका कारण जरुरी बन्दै गएको र जसमा समाजको मुल्य मान्यताको कारण अझ पनि छोरा जन्माउन आवश्यक मानिन्छ । छोरा नभए काज कृया गर्ने मान्छे हुदैनन । छोरीले केही गर्नसक्दैनन भन्ने मान्यता छ’’ – अधिकारकर्मी सुशिला गैरे ।

सामान्यतया विवाहित महिलामा परिवार नियोजनको साधनको नियमित प्रयोग नगरेको बेला महिनावारी नभए पिसाबको जाँचबाट गर्भ बसेको थाहा पाउन सकिन्छ । गर्भधारणको इच्छा नहुँदा गर्भ बस्न गएमा गर्भपतन गर्न पाउने अधिकार रहन्छ । मुलुकी ऐनको ११ औं संशोधनपछि नेपालमा गर्भपतनले कानुनी मान्यता पायो र २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति पारित भयो । यसमा गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानको खतरा हुने वा शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलांग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मन्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था छ ।

महिला प्रजनन सम्बन्धीको यो अधिकार अन्तर्राष्ट्रिय मान्यता बमोजिम नेपालमा समेत स्थापित भयो र यसबाट धेरै परिवार लाभान्वित भए । तर सँगै भित्रियो, अनिच्छित गर्भ हटाउने नाममा छोरी गर्भ हटाउने चलन । मुलुकी ऐनले गर्भपतन गर्ने—गराउने उद्देश्यले लिङ्ग पहिचान गर्ने—गराउनेलाई ३ महिनादेखि ६ महिनासम्म र लिङ्गको आधारमा गर्भपतन गर्ने र गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । विश्वका विभिन्न देशमा यससम्बन्धी आफ्नै नियम कानुन छन् । चिकित्सा विज्ञानमा समेत लिङ्ग पहिचानको महत््व छ । कतिपय आनुवांशिक रोगको अवस्था र भविष्य लिङ्ग पहिचानबाट सहज हुन्छ । नेपालमा गर्भको लिङ्ग पहिचान गैरकानुनी हो । तर यही धन्दा चलाएर लिंग पहिचान गरि गर्भपतन भइरहेको तितो यथार्थ हामी सामु छ । सामाजिक मान्यताको बलियो जरो र कानुनको फितलो प्रभावले सायद यो अपराध मौलाएको मान्न सकिन्छ । तर अपराधको एउटा अर्को बहस नभएको पाटोसमेत हामीसामु छ । के लिंग पहिचान गरी गर्भपतन गरिएको छोरीकै हो त ? लिङ्ग पहिचान गरिरहेका कथित चिकित्सकले तपाईंको गर्भमा भएको बच्चाको लिङ्ग सही ठम्याएका छन ? छोरी भनेर तुहाइएको तपाईंको गर्भ छोरी नै थियो भन्ने केही प्रमाण हुन्छ, तपाईसँग ? गर्भपतनपछि रगताम्य भ्रुणका अंशमा कुनै प्रमाण रहन्न ।

छोरा र छोरीको शरीरमा आउने फरक परिवर्तनका कारण विज्ञानले विभिन्न किसिमबाट गर्भको लिङ्ग बिभिन्न सटिकतासाथ ठम्याउन सक्छ, जसमध्ये अल्ट्रासाउन्ड एक सहज रूपमा उपलब्ध प्रविधि हो । गर्भको पहिलो त्रैमासिकमा लिङ्ग पहिचानका लागि भएको एक अनुसन्धानका अनुसार ९० प्रतिशतमा मात्र सही रूपमा लिङ्ग पहिचान भएको पाइयो, जसमध्ये छोरा लिङ्ग पहिचान ४६ प्रतिशतमा मात्र सही रूपमा भयो । अर्थात शतप्रतिशत लिङ्ग पहिचान सम्भव देखिएन । एक अनुमानका भरमा गरिएको लिङ्ग पहिचानको भर परेर धेरैले छोरी भनेर गरिएको गर्भपतन नाममा छोराको गर्भपतन गरिएको हुन सक्ने भयो । यो तथ्य विशेषज्ञले गरेको अनुसन्धानमा आधारित हो भने हामी कहाँ यस्ता अपराधमा संलग्न व्यक्ति प्रायजसो विज्ञभन्दा सामान्य तालिम प्राप्तहरू हुन्छन् । साथै बद्नियत पूर्वक तपाईंको गर्भमा छोरा नै भएको थाहा पाए पनि गर्भपतन गराउँदा झन बढी पैसा असुल्न मिल्ने भएकाले उक्त गर्भ छोरी नै हो भनिदिने सम्भावना पनि उत्तिकै प्रचुर रहेको छ । कानुनी रूपमा वर्जित लिङ्ग पहिचान पैसाका लागि गर्नसक्नेले अझै बढी पैसाका लागि तपाईंको गर्भको वास्तविक लिङ्ग लुकाउन नसक्लान भन्ने केही छ मनन गर्नुपर्ने प्रश्न हो, एक अभिष्ट चाहना पुरा गर्न मानवता उपरको जघन्य अपराध र साथै अज्ञानतामा आफूमाथि नै अन्याय गर्दै हुनुहुँदैछ कि ? गर्भ रहेपछि दम्पतीबीच वहस हुन्छ, ‘छोरा वा छोरी ?’ यसमा धेरैजसो दम्पतीको साझा रोजाई हुन्छ, ‘छोरा ।’

आफुलाई शिक्षित, सभ्य, संभ्रान्त भन्न रुचाउनेहरुमा समेत यस किसिमको मानसिकता पाइन्छ । यसैको उपज हो, लिंग पहिचान गर्ने प्रवृत्ति । हुन त गर्भ रहेदेखि नै दम्पतीमा कौतुहलता हुन्छ, छोरा वा छोरी भन्ने । तर, उनीहरु छोरा वा छोरी दुबैलाई समान रुपले स्विकार्न भने तयार हुँदैनन् । लैंगिक विभेद विरुद्ध जतिसुकै चर्को आवाज उठाएपनि व्यवहारिक रुपमा ‘छोरा नै चाहिने’ मानसिकता हराएको छैन । त्यसैले त छोराको प्रतिक्षा गर्दागर्दै धेरै सन्तान जन्माउने, छोरी जन्माएको निहुँमा हेलाहोचो गर्ने देखि गर्भ्पतन गर्नेसम्मको कुकृत्यहरु भित्र–भित्रै जारी छ । हामीलाई के लाग्छ भने, लैंगिक विभेद अशिक्षित, गरिब वा पछाडिएको समाजमा मात्र हुन्छ । तर, सभ्य, संभ्रान्त र शिक्षित भनाउँदो समाजमा पनि यस्तो प्रवृत्ति जकडिएको पाइन्छ । अशिक्षित र पिछडिएको समाजले यस्ता कृत्य वा मनोविज्ञानलाई लुकाउन सक्दैनन् । शिक्षित एवं सभ्य समाजले भने यस्ता कुरालाई भित्र–भित्रै लुकाएर बाहिर भने अर्कै नाटक गर्छन । बरु, पिछडिएको समाज वा अशिक्षित भनिएकाहरुले छोरा वा छोरीलाई समान रुपमा स्विकारे पनि सभ्य वा शिक्षित भनिने समाजले अनेक ढोंग रचिरहेको पाइन्छ ।

‘‘विशेषतः नेपालमा लिङ्ग छनोट, गर्भपतन, गर्भावस्थामा कुटपिट, शिशु अवस्थामा बालिकाको हत्या, शारीरिक दुव्र्यवहार, बालविवाह, यौनछेदन, यौन दुव्र्यवहार, जबर्जस्ती यौनसम्बन्ध, हाडनाता करणी, कार्यस्थलमा यौन दुव्र्यवहार, वैवाहिक बलात्कार, दाइजो र सम्पत्तिको कारण हिंसा÷हत्या, एकल महिला र वृद्ध महिलालाई हेला, भेदभाव जस्ता हिंसा हुने गरेको बताउनु हुन्छ ’’ –अधिबक्ता इन्दु पाण्डे ।
कानूनमा महिलाका पक्षमा थुप्रै व्यवस्था छन् । छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था, लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक, महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने र त्यस्तो कार्य दण्डनीय हुने तथा पीडितले क्षतिपूर्ति पाउने व्यवस्था नेपालको संविधानले गरेको छ तर, यसको व्यावहारिक कार्यान्वयन भने अत्यन्तै फितलो छ ।

विभिन्न संस्थाको अध्ययनको नतिजालाई हेर्दा छोरी जन्मदा तुलनात्मकरुपमा परिवारका सदस्यहरू कम खुशी हुने गरेको देखिएको छ । छोरीको जन्मको खबरले महिलाको श्रीमान्को तुलनामा सासूससुरा खुशी नहुने, छोरा जन्मँदा परिवारले मनाउने उत्सव तथा बाँडिने मिठाइ पनि छोरालाई दिइने महत्वका प्रमाणहरू हुन । सन्तान जन्मनुअघि लिङ्ग पहिचान र विभेदपूर्ण लिङ्ग छनोट भइरहेकाले तराई र पहाडका केही जिल्लाको जनसङ्ख्यामा लैङ्गिक असमानता देखिन थालेको वातावरण, स्वास्थ्य, जनसङ्खख्या सम्बन्धी गतिविधिको अनुसन्धान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । झण्डै ३ वर्षअघि कृपा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीए ले रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा लगायत १२ जिल्लामा गरेको अनुसन्धानमा एक वर्ष मुनिका जनसङ्ख्याको सबैभन्दा बढी लैङ्गिक विभेद अर्घाखाँची जिल्लामा देखिएको थियो । सबैभन्दा कम मकवानपुरमा थियो । अर्घाखाँचीमा एक वर्ष उमेर समूहका बालबालिकामध्ये १०० बालिकाको अनुपातमा १२७ बालक छन । यो तथ्याङ्कले विद्यमान लैङ्गिक असमानताका कारण छोरीको अवमूल्यन भइरहेको, प्रजननदर घटिरहेको तथा छोरीभन्दा छोराको चाहना बढेको हुनाले गर्भपतन गर्ने अभ्यास वृद्धि भइरहेको प्रतिविम्बित गरेको भन्न सकिन्छ । पछिल्लो समय शिशु जन्ममा लिङ्ग अनुपातको असन्तुलन अझै बढ्दै गएको छ ।

छोरी नचाहेको अवस्थामा छोरी जन्माउनु पर्दा सुत्केरी आमाले भोगेका सामाजिक तथा मानसिक पिडा र उनका ती अबोध बालिका माथि गरिने र्दुब्यवहारलाई कसरी हटाउने ? यसको सामाधान नगर्ने हो भने यस्ता गर्भपतन रोक्न सकिएला त ? गर्भमा रहेको सन्तानको अधिकार सुनिश्चित गर्न गर्भपतनमा रोक लगाएर मात्र पुग्छ कि पुग्दैन ? नेपालका योग्य एवं दक्ष चिकित्सकहरुले यो सेवा नदिए भारतमा रहेका अनाधृक केन्द्रहरुमा तथा हाम्रै मुलुकका असुरक्षित स्थानहरुमा नेपाली दम्पतीहरु नलुटिने ग्यारेन्टी कसरी गर्ने ? सबभन्दा महत्वपुर्ण तथ्य त छोरी जति सबै गर्भपतन गर्दै जाने हो भने सामाजिक सन्तुलन कसरी कायम रहला ? यस्ता धेरै प्रश्नहरु हामीमाझ रहेको छ । यसप्रति सबै बर्ग सचेत र गम्भिर हुन आवश्यक छ ।

Workplace
Workplace
Workplace
Workplace
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै