अर्घाखाँचीमा टाइफाइड रोग विरुद्धको खोप लगाइदै

Workplace

नविन रसाईली अर्घाखाँची । अर्घाखाँचीमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र २५ गतेदेखि सुरु हुने भएको छ । १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई खोप लगाइने भएको हो । दशैभरी एकै चरणमा चैत्र २५ देखि २०७९ बैशाख १८ गते सम्म अभियनकै रुपमा यो खोप लगाउन लागिएको खोप अधिकृत राम प्रसाद गौतमले जानकारी दिए ।

अर्घाखाँचीमा ४६ हजार ९ सय ३३ जना खोप लगाउनुपर्ने लक्षित जनसंख्या रहेको जानकारी दिए । स्वास्थ्य कार्यालय अर्घाखाँचीले सोमबार गरेको टाइफाइड रोग विरुद्ध खोप अभियान २०७८ तथा नियमित खोपमा टाइफाइड रोगको सुरवात भन्ने नाराका साथ संचालित जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यलयका खोप अधिकृत गौतमले जिल्लामा खोप केन्द्र संख्या ४२८, खोप दिने स्वास्थ्य कर्मीको संख्या ५२३, स्वयमसेवक ८४२, शिक्षिका ४२३ , पालिका स्ततरीय सुपरिवेक्षक ६१ स्थानिय सुपरिवेक्षक ६१, जिल्ला सुपरभाइजर १५ लगायत विभिन्न सहयोगी संघ संस्था रहेको बताए । यो अभियानमा लक्षित समुह प्राय विद्यालयमा रहने भएकाले विद्यालयलाई प्राथामिकता राखिएको उनले बताए । अभियान सकेपश्चात नियमित रुपमा टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिए । स्थानिय तहको निर्वाचन, बैशाख महिनामा शैक्षिक शत्रको अन्त्य हुने महिना भएको, एसईई परिक्षा बैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिना पछि वर्षायामको कारणले कार्यक्रम संचालन गर्न समस्या हुने लगायत कठिनाइका कारण बैशाख १८ गते भित्र सम्पन्न गर्नुपर्ने गौतमले बताए ।

अर्घाखाँची, रुकुम पुर्व, गुल्मी र प्युठानमा चैत्र २५ देखि खोप अभियान सुरु हुदै छ भने रुपन्देही, पश्चिम नवलपरासी र कपिलबस्तुमा चैत्र २२ गते देखि तथा दाङ, बाँके बर्दिया, पाल्पा, रोल्पामा चैत्र २३ बाट टाइफइड विरुद्धको खोप अभियान सुरु हुँदै छ ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीकी प्रमुख पुष्पा थापाले जिल्लामा खोप अभियान प्रभावकारी रुपमा संचालन भइरहेको बताइन । उनले केही चुनौती भएपनि टाइफइड विरुद्धको खोप अभियान सफल पार्ने बताउदै स्थानिय तहसँग समन्वय गरेर अभियान संचालन गर्ने पनि बताइन ।

जिल्ला समन्वय प्रमुख पिताम्बर शर्मा भुसालले यो अभियान सफल पार्न स्थानिय तह, शिक्षक शिक्षिका, विभिन्न संघ संस्था तथा पत्रकार सबै मिलेर सफल पार्नुपर्ने बताए । उनले स्वास्थ्य कार्यालयको भुमिका राम्रो र प्रभावकारी रहेको समेत बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, जिल्लाप अस्पताल अर्घाखाँचीका मेसु डा. राजेन्द्र जिसी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु लगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

टाइफाइड रोग कुन उमेर समुहका मानिसहरुमा लाग्दछ ?
यो रोग सबै उमेर समुहका मानिसमा लागेको पाइन्छ । विशेषत १५ वर्ष उमेर मुनिका बालबालिकामा धेरै लागेको पाइन्छ ।

लक्षणहरु केके हुन ?
उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदी जस्ता मुख्य लक्षण हुन भने केहीमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिह्न देखिन्छन् । यो रोग संक्रमण पश्चात केही ब्यक्तिहरुमा शरिरका विभिन्न भागहरुमा संक्रमण पैmलिने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी समस्या आदी जटिदताहरु देखा पर्छन ।

कसरी सदर्छ ?
टाइफाइड÷म्यादे ज्वरो ज्यानै जोखिममा पार्ने रोग हो । संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफइड रोग लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ ।

उपचार र रोकथाम कसरी गर्न सकिन्छ ?
समयमै स्वास्थ्य केन्द्रमा गइ चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त प्रति जैविक औषधीको सेवनबाट यो रोगको उपचार गर्नु पर्दछ । व्यक्तिगत सरसफाई र वातावरण स्वस्थ राख्नुपर्दछ । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा १ मात्रा खोप लगाउनु पर्दछ ।

के टाइफाइड विरुद्धको खोप सुरक्षित र प्रभावकारी छ त ?
हाल नेपालमा दिन लागिएको टाइफइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र विश्वको धेरै देशहरुमा प्रयोग भइसकेको खोप हो । यो खोप सुरक्षित र प्रभावकारी छ ।

यो खोप कसले लगाउनु हुँदैन ?
यो खोप विगतमा कुनै खोप लिदाँ गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलेर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुदैन तर बिरामी ठिक भएपछि खोप लिन सकिन्छ ।

खोप लगाएपछि देखिने असरहरु के के हुन् ?
टाइफाइड विरुद्धको खोप लगाएपछि अन्य रोगहरुमा जस्तै केही सामान्य (सुइ लगाएको ठाउँमा रातो हुने, सुनिने र दुख्ने, हल्का ज्वरो आउनृ, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने आदी) असरहरु हुन सक्छन् । खोप लगाए पश्चात यस्ता लक्षणहरु बाहेक अन्य स्वास्थ्यमा जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

यस अघि टाइफाइड विरुद्धको खोप लिएका बालबालिकाहरुले यो अभियानमा खोप लगाउने वा नलगाउने ?
१५ महिना देखि १५ वर्ष भित्रका बालबालिकाले यस अघि टाइफइड विरुद्धको खोप लिएको भएता पनि यो अभियानमा १ मात्रा खोप लिनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै