
१२ माघ, काठमाण्डाै । सत्ता साझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज बुधवार भइरहेकाे राष्ट्रिय सभाकाे चुनावमा १९ सिट नै सत्ता गठबन्धनले जित्ने दाबी गर्नुभएकाे छ । आज बुधवार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे ।
अध्यक्ष नेपालले भन्नुभयाे, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरङ्ग पैदा गरिरहेको छ । अहिले हामी पाँच दलीय गठबन्धनमा छौँ । पाँच दलीय गठबन्धनका सबै दल मिलेर राष्ट्रिय सभाको चुनावमा १९ जना उम्मेदवार खडा गरेका छौँ । सबै ठाउँमा हामी विजयी हुनेछौँ ।’ उहाँले राष्ट्रिय सभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरङ्ग पैदा गर्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तारुढ दलहरूबीच एकै पटक तीन वटा तहको चुनाव गराउन सके खर्च कम लाग्ने भएकाले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘तपाईँहरू सुनिरहनुभएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, सङ्घीय चुनाव कहिले गर्ने ? प्रदेश सभाको चुनाव कहिले गर्ने ? एकै पटकमा तीन वटा नै तहको चुनाव गर्न सकियो भने राम्रो हुन्छ । एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्ब रुपैयाँमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’
श्राेतः उज्यालाे अनलाइन