
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोटमा भैइरहेको चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
खाँचीकोटमा भैइरहेको चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, भुगर्भ तथा खानी विभाग, वन तथा वातावरण मन्त्रालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । स्थानिय बिष्णु थापाले सर्वोच्च अदालतमा रिट दायरा गरेका थिए। अदालतको आन्तरिक विवादका कारण केहि दिनदेखि सुनवायी रोकिएको थियो। अदालत सुचारु भएपछी सोमवार डा. कुमार चुडालको ईजलासमा सुनवाई भएको तथा विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ। अर्को सुनवाई आगामी पुस २२ गते हुनेछ।
कपिलवस्तुको भुगर्भ सिमेन्टले पर्यटकिय स्थल सुपादेउराली तथा नरपानी वरिपरीबाट चुनढुंगा उत्खनन् गरिरहेको छ । चुनढुंगा उत्खनन् गर्दा त्यहाँ वरिपरी वातावरणीय असर गर्ने, कुरुप देखिने, पर्यटकियस्थल हरुमा नकारात्मक असर गर्ने भन्दै सर्वोच्चमा रिट परेको हो । चुनढुंगा उत्खनन् गर्दा पर्यावरणीय, धार्मिक, सामाजिक, शैक्षिक, पर्यटकिय क्षेत्रका साथै समाजलाई चाहिने अत्यावश्यक पानीका मुहानहरुमा प्रत्यक्ष असर गर्ने सरोकारवालाहरुको भनाई छ ।
मापदण्ड विपरित् ट्रिपरहरुले ओभरलोड बोक्दा सन्धिखर्क-गोरुसिङ्गे सडक समेत धरापमा परेको छ । १० टन सडक क्षमता भएपनी मापदण्ड विपरित खानीका ट्रिपरहरुले १८ देखी २२ टनसम्म बोक्ने गरेका छन् । साँघुरो सडकमा ट्रिपरहरुले ओभरलोड बोक्दा दुर्घटनाको समेत जोखिम रहेको छ ।
चुनढुंगा उत्खनन्को फाईदा कस्लाई ?
बर्षौंदेखी खाँचिकोटमा चुनढुंगा उत्खनन् भईरहेको छ । मापदण्ड पुरा छ या छैन कसैलाई जानकारी छैन । स्थानियतह पनी मौन नै देखिन्छन् । चुनढुंगामा सन्धिखर्क नगरपालिकाको स्वामित्व रहेपनी नगरपालिकामा सामन्य राजश्व पनी आएको देखिदैंन । कति चुनढुंगा बाहरियो र जिल्लालाई कती फाईदा हुनुपर्ने थियो त्यसको कुनै लेखाजोखा छैन । उत्खनन् क्षेत्रका टाठाबाठा बोल्दैनन् । उनीहरुको राम्रै आम्दानी भएको देखिन्छ । स्थानिय केही युवाहरुले रोजगारी पाएका छन् । कतिपय ट्रिपर किनेर मालिक बनेका छन् । केही व्यक्ती पालाएपनी राज्य र यहाँको स्थानिय निकायलाई कुनै प्रत्यक्ष फाईदा भएको देखिदैंन ।
बाग्मती प्रदेशका नेपाली कांग्रेस सभापती ईन्द्र बानियाको कम्पनीले यहाँबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् । बिना हिसाब-किताब तथा अन्धाधुन्द उत्खनन् गर्दा जिल्लाको सम्पत्ती यसै लुटिने देखिन्छ ।