
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिजोको हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँ पहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् । भीम शेरचन र सकेन्द्र गौचनका ६५÷६५ वटा याक चौंरीमध्ये १०÷१२ वटा मात्र भेटिएका छन् ।
हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रुपमा सम्पर्कमा आएका छन् । १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०÷१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।
नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ ।
सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गर्नुभएको थियो । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।