
विपिन पाठक , चितवन ।
कमरेड प्रचण्ड अभिवादन!
आराम छु, आराम चाहान्छु।
पछिल्लो एक दशकभन्दा बढी नेपालको राजनीतिको मूल प्रवाहमा रहेको नेता तथा १० बर्षे जनयुद्धको नेतृत्वकर्ता भन्दा बढी मेरो क्षेत्रको सांसद हुनुका नाताले यो पत्र लेख्दैछु।
कमरेड प्रचण्ड,अभूतपूर्व बामपन्थी एकतापछि चितवन क्षेत्र नम्बर ३को साझा उम्मेदवार भएर ०७४ मङ्सिर १६ गते माडीको बसन्तपुरमा तपाईंले गरेको भाषण झलझली आँखा वरिपरि घुमिरहेको छ। तपाँइ मात्र होइन तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले सिङ्गो माडीलाई उत्साहित गराउने गरी गरेको भाषण तपाईंले त विर्सनु भयो होला तर माडी बासी जनताले सम्झिरहेका छन्। चुनाब पछि तपाईंहरुकै शक्तिशाली सरकार बन्यो ओली प्रधानमन्त्री र तपाईं अध्यक्ष तथा शक्तिशाली नेता बन्नुभयो।
हामी उत्साहित भयौं, सिङ्गो माडीले आमूल परिवर्तनको स्वर्णिम प्रतिक्षा गर्यो। वन ऐनको जनपक्षीय संसोधन, सुकुम्बासी समस्याको समाधान,रीउ करिडोर निर्माण, राष्ट्रिय निकुञ्जको बाटो, बाँदरमुढे घटनाका पिडीतका मागको सम्बोधन, बाँदरझुला (हनुमान झुला),कुसुम खोला, प्याउली,कान्छी बगही, लगायतका जनताको उचित व्यवस्थापन,राष्ट्रिय गौरवका २/४ थप आयोजना यस्तै सपना थिए हाम्रा र ठिक यस्तै थिए तपाँइका आश्वासन पनि।
तर कुन शक्तिले छेक्यो अथवा तात्कालिक राजनीतिकै शक्ति सञ्चालनको केन्द्रमा रहनुभएको तपाँइलाई छेक्ने कुन लौकिक वा अलौकिक शक्ति हो जसले माडीको विकास गर्न निरन्तर अवरोध सिर्जना गरिरह्यो?माडीलाई मणी बनाउँछौं भनेर बोल्ने ओली र तपाईं दुवै असफल वा यसको दोषी त हुनुहुन्छ नै तर ओली भन्दा तपाँई बढी दोषी यो मानेमा पनि हुनुहुन्छ तपाईं यो क्षेत्रको सांसद पनि हुनुहुन्छ, त्यो पनि प्रत्यक्ष निर्वाचित। प्रत्येक बजेट भाषणको अध्योपान्त रेडियोमा ध्यान र कान राखेर सुन्ने माडीवासिले बजेट भाषणको अन्त्यमा निराश र उदासिनता शिवाय केही पाएनन्।यो क्रम निरन्तर तीन आर्थिक वर्षसम्म चलिरह्यो।तर यो बिषयले तपाँइलाई कहिल्यै छोएन वा छोएको अनुभूति हामीले पाएनौं। माडीको सुकुम्बासी चेपाङ्ग बस्तिमा आगो झोसियो,तर आँफुलाई पिंधको वर्गको नेता मान्ने हजुरको एक शब्द सुनिएन, बरु तपाईंका बिश्वास पात्र तात्कालिन बनमन्त्रीले बोले गोठमा आगो लगाइएको हो। बाँदरमुढे घटना पिडितसङ्ग पटकपटक तपाँईले गरेको उधारो सम्झौताले तपाँइलाई नै गिज्याएजस्तो लाग्दैन कमरेड ??
ढिलै भएपनि तपाईं गाउँ छिर्नु भएछ यो खुसिको कुरा हो हुनत बिस्तारै चुनावी मौसम आएर होला। भूमिहिन जनतालाई लालपुर्जा बाँड्नु पर्ने तपाँइका हातले नागरिकता बाँड्नु भएछ, नागरिकता बाँड्न त प्रशासन अड्डाको हाकिम नै काफी छैन र ??
तपाईंसङ्ग म कुनै राजनीतिक सैद्धान्तिक सवालहरु उठाइरहेको छैन तपाँईको क्षेत्रको एक सामान्य नागरिकको नाताले वन ऐन २०२९को कालो छाँयामा बसेर तपाईंसङ्गै प्रत्यक्ष सम्बन्धित सामान्य प्रशनहरु सोधिरहेको छु। बिकृत संसदीय राजनीतिको रसातलमै पुगेरै भएपनि तपाईं आँफुलाई राजनीतिको चाबी (key person) भनिरहनु भएको छ।तर तपाँइकै क्षेत्रमा अनागरिक बनेर बाँचिरहेका नागरिकहरुका सवाल र समस्या खोल्ने चाबी बन्न तपाईं लाई केले रोक्यो?? हाम्रा मुद्धा र समस्या,हाम्रा भावना र सपना केवल चुनाव जित्ने भर्याङ मात्र हुन त??सरकार निर्माण पछि सुरुका दुई वर्ष प्रधानमन्त्री ओलीको नजिकको मान्छे हजुर नै हुनुहुन्थ्यो।
कर्मचारी तन्त्रले हजुरको निर्देशनकै भरमा कामगर्ने स्थिति थियो ।तर किन काम भएन कमरेड??? आज जङ्गलको बाटो पिच गर्छु र रिउ करिडोर निर्माण गर्छु भन्नुभएछ माडीबासीले पत्याउलान् त कमरेड?? ढाँटको निम्तो खाइ पत्याउनु भनेझैं काम भएपछि पत्याउँला भनिदिए भनें अन्यथा उही विगतको निरन्तरता सम्झौंला तर कमरेड प्रचण्ड आज सारा माडीवासीको मनमा यी र यस्ता प्रश्नहरुको लामो सूची रहेको छ।यी प्रश्नहरुको व्यावहारिक सम्वोधन र सामाधान गरेर मात्र पुनः चुनाव लड्न माडी आउनुहोला।
उही तपाईंको क्षेत्रको एक सामान्य नागरिक। विपिन पाठक