
- अर्घाखाँचीका रुद्र पौडेल नेपाली सम्पर्क समिति दक्षिण कोरियाको महासचिव पदमा मनोनीत हुनुभएको छ।
- रोजगारीको सिलशिलामा कोरियामा रहनुभएका पौडेललाई कार्यसमितिको बैठकको निर्णयअनुसार सो पदको जिम्मेवारी दिइएको हो।
- उहाँको यो मनोनयनले अर्घाखाँची र उहाँको गृहस्थ गाउँ धन्चौरमा खुसीयाली छाएको छ।
हृदय भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–१० धन्चौर निवासी रुद्र पौडेल नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको महासचिव पदमा मनोनीत हुनुभएको छ ।
हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका पौडेललाई समितिको कार्यसमिति बैठकको निर्णयअनुसार महासचिव पदमा मनोनीत गरिएको हो ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विष्ट र सचिव भगवान तिवारीद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख भएअनुसार सन् २०२६ नोभेम्बर १८ मा बसेको कार्यसमिति बैठकले महासचिव पद रिक्त भएपछि उक्त पदमा पौडेललाई मनोनीत गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार नोभेम्बर १९ मा उहाँलाई औपचारिक रूपमा मनोनयन गरिएको हो ।
सानै उमेरदेखि लगनशील, अध्ययनशील तथा मेहनती स्वभावका पौडेल गाउँमै अध्ययन गरेर अब्बल विद्यार्थीका रूपमा परिचित हुनुहुन्थ्यो । भूमिकास्थान नगरपालिका–१० निवासी बलभद्र र चुडालिका तीन सन्तान रुद्र, प्रकाश र शारदामध्ये उहाँ जेठा छोरा हुनुहुन्छ । बाल्यकालदेखि नै मेहनत, अनुशासन र जिम्मेवारीलाई प्राथमिकता दिँदै आउनुभएका पौडेलले अहिले प्रवासमा रहेर पनि संस्थागत जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
समितिले पौडेललाई आगामी दिनमा आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्दै संस्थाको उन्नति र प्रगतिमा अतुलनीय योगदान पुर्याउने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
धन्चौरको गाउँघरमा हुर्किएर दक्षिण कोरियामा रोजगारीसँगै सामाजिक तथा संस्थागत जिम्मेवारीमा समेत अघि बढ्नुभएका पौडेल महासचिवमा मनोनीत हुनुभएसँगै धन्चौर वासी तथा अर्घाखाँचीवासीले खुसी व्यक्त गरेका छन् । उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।


























