२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सहज हुन सकेन

Workplace

काठमाण्डाै – भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन शुरु भए पनि सहज हुन सकेको छैन ।

भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि प्रभावित ती जिल्लाका हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चाैरमा बसेरै पठनपाठन गर्न बाध्य छन् । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न विगतमा जस्तो सहज नभएको विद्यार्थीको गुनासो छ ।

गएको मंसिर ४ गतेदेखि नै पठनपाठन शुरु भएको हो । तर शिक्षक/विद्यार्थीमा भूकम्पको त्रास अझै हटिसकेको छैन भने विगतमा जस्तो सहज वातावरण पनि छैन । कतिपय विद्यार्थीको शैक्षिक सामग्री पुरिएका छन् । कापीकिताब पुरिएकाहरु रित्तै विद्यालय जाने गरेका छन् ।

जाजरकोट र रुकुम पश्चिममा झण्डै १४ हजार बालबालिकाले पाठ्यपुस्तकविना नै पढ्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोटकी कक्षा ८ मा पढ्ने सिन्दु मल्लले पढ्न/लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको बताइन् । मल्ल जनविकास माध्यमिक विद्यालयमा पढ्नुहुन्छ ।

जनविकास माध्यमिक विद्यालयमा सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन शुरु गरिएको छ । अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन शुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसङ्गम थापा बताउनुहुन्छ । भूकम्पका कारण जनविकास माविमा अध्यनरत तीन जना विद्यार्थीले ज्यान गुमाएका छन् ।

त्यस्तै, रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भैरहेको छ । विद्यालयका भवनमा क्षति भएपछि अस्तव्यस्त हुँदा विद्यार्थीलाई पुरानैलयमा ल्याउन अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चाैरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो ।रुकुम पश्चिममा २ सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन थालिएको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै