पदम गैरे पाल्पा l पाल्पामा टिमुर खेतीबाट एक हजार बढी कृषकले फाइदा लिएका छन् । खेती नभएको र खेर गएको खेतबारीको छेउछाउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुर खेतीबाट कृषकले आर्थिक लाभ लिन सफल भएका छन् । असारको अन्तिम सातादेखि कात्तिक महिनाको मसान्तसम्म टिमुर विक्री गरेर जिल्लाका कृषकहरुले वार्षिक रूपमा ५० हजारदेखि तीनलाखसम्म आम्दानी गर्ने गरेको बताएका छन् । प्रयोग विहिन जग्गामा टिमुर खेती गरेर आम्दानी लिन पाएका कृषक खेतीप्रति हौसिएका छन् । घरको बारी, ढिक तथा वनमा लगाएको टिमुरबाट वार्षिक दुई लाख आम्दानी हुँदा टिमुर खेतीमा सम्भावना देखेको रिब्दीकोट ६, ठिमुरेका कृषक शम्भु नेपालले बताउनुभयो । चार वर्षअघि खेर गएको जग्गामा लगाएको टिमुरको बोटले अहिले राम्रो फल दिन थालेपछि विक्रीबाट राम्रो फाइदा हुन थालेको उहाँको भनाइ छ । टिमुरको विरुवा बीउबाट उमारिन्छ । बोट ठूलो नै हुने भएकाले करिब १ देखि ३ मिटरको दुरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० सेन्टिमिटरको खाल्डोमा गाई वस्तुको मल हाली यसलाई रोपिन्छ । यसको गेडा अर्थात् फलहरू पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गरिन्छ । संकलन गरिएका गेडाहरूलाई राम्ररी सुकाई बोरामा कसेर ओबानो गोदाममा राखिन्छ ।
आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजिर्ण र हैजा इत्यादि रोगहरूमा टिमुर प्रयोग गरिन्छ । अचार बनाउन, तरकारी झान्न, मसला बनाउन, सुप बनाउन तथा अन्य परिकार र औषधी बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । यसका साथै पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण शहरी क्षेत्रमा टिमुरको माग अत्याधिक छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने उपभोक्ताहरुले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।
टिमुर किन्न बजारका मानिसले खोसाखोस गरेको माथागढी–३, का कृषक सरिता रेग्मीले बताउनुभयो । उहाँले अहिले टिमुर बजारसम्म लैजादा प्रतिकिलो एक हजार रुपैयाँसम्ममा विक्री हुने गरेको बताउनुभयो । अग्लो र ओसिलो स्थानमा टिमुर खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा यसको खेती गर्न सकिन्छ ।
बाँदर आतंकले अन्य खेतीवालीमा क्षति गरिरहेका बेला टिमुर खेतीले कृषकहरुका लागि राहत र सुरक्षित खेतीका रूपमा स्थापित गर्न सकिने डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । उहाँले अन्य खेतीमा बाँदरलगायत वन्यजन्तुको आक्रमण भएर सास्ती खेपेका कृषकहरुलाई टिमुर खेतीले सुरक्षित र दीर्घकालीन हुने बताउनुभयो । टिमुरको बोट एक पटक हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने रेञ्जर पोखरेलको भनाइ छ ।
डिभिजन वन कार्यालयले यो वर्ष टिमुरको पकेट क्षेत्र बनाउन विरुवा वितरण समेत गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । जिल्लाको माथागढी, तिनाउ, निस्दी र तानसेनका नर्सरीमा उत्पादन भएका १५ हजार बढी टिमुरका विरुवा वितरण गरिएको छ ।